
पाल्पा — पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा दुई दाजुभाईको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२, खुर्साने क्षेत्रमा करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका सहोदर भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहीबार बेलुकी ७ बजेतिर तिनाउ गाउँपालिका–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय तिनाउ गाउँपालिका–१, बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । बिजुलीको तारबाट करेन्ट लगाएर लुकीछिपी माछा मार्ने गर्दा यस्ता घटना यसअघि पनि घटेको वडाध्यक्ष राजेश श्रेष्ठले बताए । उनका अनुसार करेन्ट लगाएर माछा मार्न नपाउने वडाको नियम भएपनि लुकीछिपी यस्तो कार्य हुँदै आएको छ । खुर्साने क्षेत्रबाट बिजुली ल्याएर मार्न नपाउने भएकाले वडा नम्बर १ को बेलदमारक्षेत्रबाट तार ल्याएर माछा मारेको हुनसक्ने उनले बताए ।












