
बुटवल ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ ।
यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा आई पुगेको छ ।
आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरु प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।



१० दिनसम्म प्राविधिक परीक्षण उडान गरेपछि नेपाल वायु सेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । त्यसपछि व्यवसायिक उडानको तयारी सुरु हुने छ ।
सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आन्तरिक उडान मात्र हुँदै आएको भैरहवा विमानस्थललाई नै अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा परिणत गर्ने कामको सुरुआत सन् २०१४ को जनवरीदेखि भएको थियो ।
सन् २०१७ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि भूकम्प,ठेकेदारको ढिलासुस्ती, कोरोना महामारी लगायतका कारण निर्माणमा ढिलाई भएको हो ।
एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।









