
बुटवल ।
सैनामैनाका नगरपालिकाका दुई बालबालिका अपहरण गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरी शनिवार सार्वजनिक गरेको छ ।
सैनामैना बाट बिहीबार अपहरणमा परेका दाजुबहिनी १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रशन्न दाहाललाई प्रहरीले शुक्रबार झापाबाट अपहरणमुक्त गरेको थियो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न सैनामैना ५ घमाहका खेम बहादुर पौडेललाई सार्वजनिक गरेको हो । अभियुक्त पौडेल पिडित बालबालिकाका फुपाजु हुन् ।



प्रहरीका अनुसार बिहीबार बिहान सैनामैनाको दुधराक्षस्थित घरबाट बुद्धनगरमा रहेको प्रभात बोर्डिङ स्कुलको बसमा चढेर गएका बालबालिकालाई खेमबहादुरले झारेर आफ्नो साथमा लगेका थिए ।अभियुक्त पौडेलउपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख मनोजकुमार केसीले बताए ।
बिहिवार विहान स्कुल गएका छोराछोरीहरु साँझसम्म पनि स्कुलबाट नफर्केपछि बाबु प्रेम दाहालले इलाका प्रहरी कार्यालय रन्यौरामा जानकारी गराएका थिए । प्रहरीमा जानकारी गराएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।प्रहरीले सीसी फुटेजको सहयोगमा इलाका प्रहरी कार्यालय अनारमनी, झापाको सहयोगमा विर्तामोड बसपार्कबाट शुक्रबार साँझ अभियुक्तलाई पक्राउ गरेको थियो भने बालबालिकालाई सकुशल उद्दार गरेको थियो ।
बालबालिकासहित अभियुक्तलाई शनिबार बिहान मात्र जिल्ला प्रहरी कार्यालय रुपन्देही ल्याइएको थियो ।अभियुक्तले अभिभावकसँगको रिसिइबीका कारण बालबालिकाको अपहरण गरेको बताएका छन् ।









