
काठमाण्डौ ।
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।
दिवस मनाइरहँदा भाषा संरक्षणमा भने चुनौती थपिँदै गएको छ ।
मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् ।



अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिँदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ ।
२०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ ।
यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको संवाहक हो ।
मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिँदैन ।
नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेका छन् ।
आदिम समुदायका मातृभाषा विद्यालयको प्रयोगमा नहुँदा र सार्वजनिक जीवनमा प्रयोगबाट समेत छुट्दै गएकाले यी भाषाहरु सङ्कटमा परेको भाषा आयोगका अध्यक्ष लबदेव अवस्थीले जानकारी दिए ।
उनका अनुसार एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ । ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको छ ।
आयोगका अध्यक्ष अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यी भाषा संरक्षणका काम सुरु गरेको बताए ।








