
बुटवल ।
बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पाशवानले स्थानीय निर्वाचनमा साना दललाई चुनाव चिन्ह नदिएर निरकुंशता लाद्न खोजिएको आरोप लगाएका छन्।
जनताको बलमा संघीयता र गणतन्त्र प्राप्त गरेको बताउँदै उनले चुनाव चिन्हमा रोक लगाएर पूर्वराजा ज्ञानेन्द्र शाह नबन्न सरकारलाई चेतावनी समेत दिए।



कपिलवस्तुमा आयोजित पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पाशवानले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र एमाले अध्यक्ष केपी ओली जी ! जनताको बलमा राजा फालेका हौं। लोकतन्त्रमा चुनाव चिन्ह पनि नपाउने अवस्था आए हामी मान्दैनौं।’ कानुनले नमिल्ने भए पनि संशोधन गरेरै भएपनि चुनाब चिन्ह दिन सरकारसँग आग्रह गरे।
संविधानले दिएको अधिकारसमेत कार्यान्वयन गर्न सरकार असफल बनेको उनले बताए। पूर्ण समानुपातिक व्यवस्था, दलित तथा पिछडिएका समुदायको अधिकार स्थापित नभए ठूलो विद्रोह हुने चेतावनी पाशवानले दिए।
शुक्रबारसम्म चल्ने पार्टीको बन्दसत्र रूपन्देहीको भैरहवामा हुनेछ।
छैटौं अधिवेशनले समावेशिताका सवाल र समयसामियक राजनीतिक विषयमा निर्णय गर्ने बहुजन शक्ति लुम्बिनी प्रदेश सचिव सतिश निगमले जानकारी दिए।
अधिवेशनमा देशभरबाट आएका ५ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्। बन्द सत्रले शुक्रबार नयाँ नेतृत्व चयन गर्नेछ।









