
काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छ।
संसद सचिवालयका महासचवि डा भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीअनुसार संसद बैठकमा एमसीसीमाथि सामान्य छलफलअघि महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश हुनेछ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ पेश गर्ने कार्यसूची रहेको छ।



संसद सचिवालयले तयार पारेको कार्यसूचीअनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। तर, अर्थमन्त्री शर्मा संसद बैठकअघि नै काठमाडौँ उपत्यका बाहिर रहेका छन।

आइतबार भएको बैठकमा समेत अर्थमन्त्री शर्माले एमसीसीसम्बन्धी परियोजना पेश गर्ने कार्यसूची थियो। तर उनी बैठकमै अनुपस्थित भएर सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्माको अनुपस्थितिमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी सम्झौता संसदमा टेबुल गराएका थिए।
सत्ता गठबन्धनमा रहेका पाँचदलमध्ये सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसमात्रै एमसीसी संसदबाट पारित गर्ने पक्षमा रहेको छ।
गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी सुरुमा एमसीसी संसदमै पेश गर्न नहुने पक्षमा थिए। पछि चौतर्फी दबाब आएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी उक्त सम्झौता संसदमा टेबल गर्न सहमत भएका थिए।








