
दाङ ।
दाङमा सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
देउखुरी क्षेत्रमा कार र मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका– ७ बस्ने सिमासर चौधरीकी १० वर्षीया छोरी सन्ध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



दुर्घटनामा परी गम्भीर घाइते सन्ध्याको लमही अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो।
यस्तै दुर्घटनामा राप्ती ६ सगरापुर बस्ने ४५ वर्षीय जयराम चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया बेदकुमारी चौधरी र पैदलयात्री लमही ८ असनी बस्ने २८ वर्षीय पारस बोहोरा घाइते भएको प्रहरीले बताएको छ।
गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३४६१ नम्बरको मोटरसाइकल गएराति साढे दश बजे गढवा– २ महादेवा पुल नजिकै एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए।









