
काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ ।
नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ ।



आयोगले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोधसमेत गर्न पाउने जानकारी दिए ।
अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाउनेछन् ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलका निवेदनमाथि जाँचबुझ भइरहेको आयोगले जनाएको छ । निर्वाचनमा सहभागी हुने दलहरुको नाम यही फागुन २६ गतेभित्र प्रकाशन गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।








