
गुल्मी ।
गुल्मीको मदाने गाउपालिका खरको छानामुक्त गाउपालिका बनेको छ ।
मदाने गाउँपालिकालाई बिहिवार एक कार्यक्रमका बिच खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिकालाई बिहीवार गुल्मी क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री गोकर्ण विष्टले खरका छानमुक्त गाउँपालिका घोषणा गरेका हुन्।



गाउँपालिका भित्रका वडा नम्बर एकमा १४१, वडा नम्बर २ मा १८०, वडा नम्बर ३ मा १४५, वडा नम्बर ४ मा ३२, वडा नम्बर ५ मा १०७, वडा नम्बर ६ मा ५२ र वडा नम्बर ७ मा ७० जना गरी कुल ७२९ घरमा खरका छाना हटाई जस्तापाता लगाइएको गाउँपालिकाले जनाएको छ।
यस्तै‚ एकीकृत बस्तीका १७ घर निर्माण, भूकम्पपछि पुनर्निर्माण भएका निजी आवासअन्तर्गत १४१, नागरिक आवासअन्तर्गत १२८, जनता आवास अन्तर्गत सात र नमुना वस्तीका ३२ घर निर्माण गरी कुल एक हजार ५४ घरलाई खरका छाना मुक्त गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए।
गाउँपालिकाभित्रका नागरिकहरुको घरमा जस्तापाता लगाएपछि आगलागीबाट हुने डर, वर्षायाममा पानी चुहिने समस्या र बर्सेनि घर छाउनुपर्ने अवस्थाको अन्त्य भएको केसीको भनाइ छ। खरका छानामुक्त गाउँपालिका घोषणा गर्न जस्तापाता खरिदमा २ करोड ८४ लाख ३७ हजार ४२० रुपैयाँ खर्च भएको पोखरेलले जानकारी दिए।
गाउँपालिका अध्यक्ष दानबहादुर केसीले २०७४ असार २० गते पद वहालीको दिन गरेको पहिलो निर्णय नै गाउँपालिकालाई खरका छानामुक्त बनाउने भएकाले स्मरण गर्दै सोही अनुसार नै काम अघि बढाइएकाले अहिले घोषणा गर्न सम्भव भएको बताए।
आफूहरूले निर्वाचनको समयमा गरेका प्रतिवद्धतामध्ये ९० प्रतिशतभन्दा धेरै सम्पन्न भएको भन्दै यस अभियानमा जुट्ने सम्पूर्णलाई उनले धन्यवाद ब्यक्त गरे।
यसअघि गत असार २८ मा जिल्लामै पहिलो पटक धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको थियो।









