
परासी ।
सुस्ता गाउँपालिका–५, मा ‘पशु स्वास्थ्य तथा बाँझोपना निवारण’ शिविर सञ्चालन भएको छ ।
कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, लुम्बिनी प्रदेशको आयोजना तथा नेपाल भेटेरिनरी एसोसिएसन–लुम्बिनी प्रदेशको सह–आयोजनामा शिविर संपन्न भएको छ ।



निर्देशनालयका निमित्त निर्देशक डा.परवेज आलमको अध्यक्षतामा संचालन भएको शिविरबाट ७५ वटा पशुपन्छी पालक घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको प्रमुख आतिथ्यता र पशुपन्छी विकास महाशाखाका प्रमूख तुल्सीराम भण्डारीको विशिष्ट आतिथ्यतामा संचालित शिविरमा नेपाल भेटेरिनरी एसोसिएसनका प्रतिनिधि दर्तावाल पशु चिकित्षक डा. विवेक बन्धु रेग्मी, डा.सुमन सिंह राजपुत र डा.सुरेन्द्र कानुले किसान वर्गको लागि विज्ञ सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा सुस्ता बचाउ अभियानका अभियन्ता गोपाल बहादुर गुरुङ र वरिष्ठ मत्स्य विकास अधिकृत प्रवेश सिंह कुंवर समेत अतिथिको रुपमा उपस्थित थिए ।
सिविरमा आफ्ना पशुपन्छीको स्वास्थ्यको खातिर विज्ञ सेवा आफ्नो घर–दैलोमै पाउँदा पशुपन्छी पालक सुस्तावासी निकै हर्षित र उत्साहित भएका थिए ।
विशिष्ट प्रकृतिको भौगोलिक जटिलताले कारणले सधै राज्यको पहूँचबाट टाढिएको महशुस गर्दै आएका सुस्ताबासीले प्रदेश सरकार अन्तर्गतको मन्त्रालयले नै नेपाल भेटेरिनरी एसोसियसन–लुम्बिनी प्रदेशको सहकार्यमा विशेषज्ञ सेवा लिएर घर–दैलोमा जाँदा निकै हर्षभाव व्यक्त गरेका थिए ।
शिविरबाट करिब ३५० वटा गाई–भैसी,करिब ८०० जति बाख्रा र अन्य केहि पशुपन्छीले स्वास्थ्योपचार प्राप्त गरेको जनाइएको छ ।









