
बुटवल ।
अधिवेशन सकिएको करिब ४ महिनापछि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा पदाधिकारीको टुङ्गो लागेको छ ।
प्रदेश समितिको पहिलो बैठकले सुदर्शन बरालको अध्यक्षतामा २५३ सदस्यीय समितिको चयन गरेको हो । गत मंसिर २५–२६ मा दाङको भालुबाङमा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनबाट २ सय १७ सदस्यीय कमिटी चयन गरेको थियो तर पदाधिकारी भने टुङ्गो लागेको थिएन् ।



बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले उपाध्यक्षमा दुर्गा थारु, लुमाकान्त न्यौपाने र बहादुर खत्री चयन गरेको छ । यसैगरी सचिवमा कृष्ण अधिकारी, सह–सचिवमा अकलबहादुर बम, पार्वती विक, काशिराम यादव र कोषाध्यक्षमा निर्दोष वली चयन भएका छन् ।
कार्यालय सचिवमा रामानन्द यादवलाई जिम्मेवारी दिइएको छ । यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन ।
नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल लगायतले सपथ ग्रहण गराएका छन् ।









