
काठमाडौं ।
वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७३ वटा साना राजनीतिक दललाई पनि आफ्नै चुनाव चिन्ह दिने तयारी गरेको छ।
बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिनेबारे निर्णय गरेको छ।



तर साना दलहरूले चैत ६ भित्र जिल्लाहरूमा पार्टीका संरचनालगायत विवरण खुल्ने कागजात आयोगमा पेश गरिसक्नुपर्नेछ।
०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। स्थानीय चुनावमा भाग लिनका लागि ७३ साना दल आयोगमा दर्ता भएका छन्। तर राष्ट्रिय मान्यताप्राप्त नगरेका साना दललाई स्वतन्त्र उम्मेदवारकै हैसियतको चुनाव चिन्ह दिने भएपछि विरोध हुँदै आएको थियो।
साथै दल दर्ता गर्दाका चुनाव चिन्ह मतपत्रमा राख्ने हो भने ती दलहरूले आफू सक्रिय रहेको जानकारी आयोगको केन्द्र र जिल्लास्थित निर्वाचन कार्यालयमा दिनुपर्नेछ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ७५ अनुसार चुनाव चिह्नका लागि दललाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।
आयोगमा विवरण नबुझाउने दललाई भने स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने चिन्ह नै प्रयोग गर्न दिइने आयोगको भनाइ छ।








