
नेपालगञ्ज ।
बाँकेमा ६ महिनामा २५ जना क्षयरोगीको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन मानबहादुर नेपालीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २५ जना क्षयरोगीको मृत्यु भएको हो।



जिल्लामा गतवर्ष ३७ जनाको मृत्यु भएको थियो।
६ महिनामै २५ जनाको मृत्यु हुँदा यो वर्ष मृतकको संख्या बढ्ने आँकलन गरिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ४ सय ९४ जना क्षयरोगी फेला परेका छन्। गतवर्ष ८ सय ३५ जना नयाँ क्षयरोगी फेला परेका थिए।
देशभरमा जस्तै बाँकेमा पनि उपचारका लागि सम्पर्कमा नआएका क्षयरोगीको संख्या ठूलो रहेको स्वास्थ्य कार्यालयको आँकलन छ।
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा सरोकारवाला निकायले नेपालगञ्जमा अन्तरक्रिया गरेर तथ्यांक सार्वजनिक गरेका हुन्।









