
रोल्पा ।
रोल्पामा स्नातकोत्तर तहको पढाइका लागि नागरिक दबाब बढेको छ ।
छिमेकी जिल्लामा लामो समयदेखि स्नातकोत्तर तहको पठनपाठन भए पनि यहाँ यसबारे सरोकारवालाले चासो नदिएको भन्दै नागरिक तहबाट दबाब बढेको हो ।
स्नातकोत्तर तह सञ्चालनका लागि भन्दै विसं २०७२ मा धार्मिक महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीयवासीले गरेको नगद तथा भूमिदानबाट रु एक करोड बढी आर्थिक सङ्कलन भएको थियो



महोत्सव लगत्तै स्नातकोत्तर तहको पठनपाठन गर्ने भनिए पनि महोत्सव आयोजक संस्था जलजला बहुमुखी क्याम्पसले कुनै पहल नगरेको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् ।
नागरिकको लगातारको दबाबपछि उक्त क्याम्पस स्नातकोत्तर तहको पठनपाठन सुरु गर्ने विषयमा छलफल गर्न तयार भएको हो ।
क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख विष्णु आचार्यका अनुसार आर्थिक रुपले टाँट पल्टिने अवस्था भएपछि क्याम्पस सञ्चालन समितिको निर्णयबमोजिम महोत्सवबाट उठेको रकमले क्याम्पस सञ्चालन गरिएको थियो ।क्याम्पसका प्रधाध्यापक तथा कर्मचारीको तलब महोत्सवबाट उठेको दानबाट व्यवस्थापन गरियो आचार्यले बताए ।
जुन उद्देश्यले धार्मिक महोत्सव गरियो त्यही उद्देश्यमा बजेट खर्च गर्नुपर्नेमा अन्यत्र खर्च गरिनु दुखद भएको स्थानीयवासीको गुनासो छ ।









