
बुटवल ।
लुम्बिनी प्रदेशमा यही चैत २२ देखि सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।
स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाइनेछ ।
प्रदेशमा चैत २८ सम्ममा सबै बालबालिकालाई खोप लगाएर सक्ने योजना रहेको उनले बताए । बालबालिकाहरुलाई विद्यालयमै केन्द्र तोकेर खोप दिइनेछ ।



सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिँदैछ ।
देशभरमा यो उमेर समूहका बालबालिकाको संख्या करिब ७५ लाख रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।
स्कुल स्कुलमा गएर खोप दिने योजना बनाइएको उनले जानकारी दिए । उनले खोप अभियान सकिएको अर्को महिनादेखि यो खोपलाई नियमित खोपको सूचीमा राखेर १५ महिना पुगेका बालबालिकाहरुलाई दिन सुरु गरिने पनि बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले उक्त खोप जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई हुन सक्ने भए पनि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई ११ प्रतिशत बढी देखिएकोले यो समूहलाई खोप लगाउने बताए ।









