
दाङ ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ ।
६५औँ सहकारी दिवसको अवसरमा आइतबार कार्यक्रम गरी राप्ती गाउँपालिकाको मौरीघाटमा उक्त कार्यालय स्थापना गरिएको हो ।
प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशस्तरीय सहकारी दर्ता, अनुगमन, नियमनलगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको बताए । यसअघि मन्त्रालयले नै गर्दै आएको उक्त कार्य अब सोही कार्यालयबाट हुने बताइएको छ ।



केन्द्र सरकारले केन्द्रीयस्तर, प्रदेशले प्रदेशस्तरका र स्थानीय तहले स्थानीयस्तरका सहकारी संस्थाहरूलाई हेरिरहेको भन्दै सोहीअनुसार लुम्बिनी प्रदेशस्तरीय सहकारी संस्था दर्ता,नियमन, अनुगमनलगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बताए ।अनुगमनको पाटोलाई व्यवस्थित बनाउनसमेत कार्यालयका कर्मचारीहरूलाई मन्त्री खड्काले निर्देशनसमेत दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याणमन्त्री विमलाकुमारी खत्री (वली)ले प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालयले प्रदेशस्तरीय सहकारी सञ्चालन गर्न सहजता हुने धारणा राखिन् ।









