
काठमाडौं ।
सरकारले अन्तरप्रदेश लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ ।
एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा १० देखि १५ प्रतिशत भाडा बढेको हो ।यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सबै प्रकारको सार्वजनिक यातायमतमा भौगोलिक अवस्थितिका आधारमा भाडा वृद्धि गरेको हो ।



विभागले आइतबार सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुवाहक सवारीमा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ प्रतिशत र तराईका मालवाहक सवारीमा १५ प्रतिशतका दरले भाडा वृद्धि गर्ने निर्णय गरेको हो । विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि र अन्य १२ सूचकका आधारमा भाडा समायोजन गर्न विभागले मन्त्रालयमा सिफारिस गरेको थियो ।
कुल भाडाको ३४ प्रतिशत हिस्सा इन्धनलाई लिएर अन्य १२ सूचकको अध्ययनका आधारमा बिहीबार मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन भएको थियो ।’ कुन रुटमा कति भाडा वृद्धि गरेको भन्नेबारेमा भने विभागले आइतबार सूचना प्रकाशित गरेको हो । आइतबारबाट नै वृद्धि भएको भाडादर लागू भएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । उनले भने, “इन्धनको मूल्यमा ५ रुपैयाँ कम हुँदा भाडादर पनि घट्छ र इन्धनको मूल्यमा ५ रुपैयाँ वृद्धि पनि हुँदा भाडादर पनि वृद्धि हुने स्वचालित भाडादर समायोजन प्रणाली पनि लागू गरेका छौं ।”
विगत ९ वर्षदेखि हुन नसकेको वैज्ञानिक स्वचालित भाडादर प्रणाली लागू गर्न विभागले मन्त्रालयमा प्रस्ताव गरेको थियो । विभागले वैज्ञानिक भाडादर लागू गर्न समायोजन अध्ययन प्राविधिक समितिले तयार पारेको प्रतिवेदनका आधारमा मन्त्रालयले भाडा समायोजन र स्वचालित मूल्य लागू गरेको हो ।
पछिल्लो समय इन्धनको मूल्यमा भएको वृद्धिका कारण भाडा वृद्धि गर्न यातायात व्यवसायीहरुको माग गर्दै आएका थिए । हरेक पटक माग राखेर भाडादर घटाउने र बढाउने गर्नुभन्दा इन्धन तथा अन्य पार्टपुर्जाको मूल्य वृद्धिको आधारमा स्वचालित भाडा पनि समायोजन हुने गरी प्रणाली विकासका लागि समितिले मन्त्रालयमा सिफारिस गरेको थियो । कारोबार दैनिकमा समाचार छ ।








