
काठमाडौं ।
निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ। मंगलबार बिहान ११ः३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो।
छलफल स्थानीय तहको निर्वाचनमा केन्द्रित रहनेछ। आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ। आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ।



स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो।
आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो।
सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगको तयारी रहेको छ।








