
काठमाडौं ।
सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज बस्दै छ । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ । विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।



आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो । तर, दलहरू आ–आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बन्यो ।
स्रोतका अनुसार नेपाली कांग्रेसले ६ वटै महानगरपालिकामा आफ्नो दाबी प्रस्तुत गरेको थियो । नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगर छाड्न मानेन भने दुईवटा उपमहानगरमा पनि दाबी कायमै राख्यो ।
नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिकामा पोखरा मागेको छ भने उपमहानगरमा बुटवल, हेटौँडा र इटहरी मागेको छ । जनता समाजवादी पार्टी (जसपा)ले पहिल्यैदेखि वीरगन्ज दाबी गरेको छ । शीर्ष नेताको बैठकमा विस्तृत छलफल गरेर भागबन्डा टुंगो लगाउने तयारी छ ।
यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय निर्धारण गरेको छ ।








