
काठमाडौं ।
यही वैशाख ३० का गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदैछ ।
यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको छ । आज र भोलि (सोमबार) दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।



देशैभर मनोनयन दर्ता र निर्वाचन प्रकियाको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ ।
विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेको आयोगको भनाइ छ ।
यसले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन उम्मेदवारको सूची प्रकाशन गर्न नसकिएको सन्दर्भमा दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन कार्यतालिका अनुसार १२ गते सोमबार नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन हुनेछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका तय गरिएको छ ।








