
काठमाडौं ।
सरकारले एक सातामै फेरि सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको हो ।
यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ ।



सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २ दशमलव १ प्रतिशतले भाडा बढेको छ । त्यस्तै मालबाहक सवारीसाधनमा २ दशमलव ७ देखि ३ प्रतिशतसम्म भाडा बढेको छ । लोकल (प्रदेशभित्रै चल्ने) सवारीसाधनमा भने भाडा बढाइएको छैन ।








