
काठमाडौं ।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा बालबालिका सम्बन्धी आचारसंहिता उल्लंघनका ११५ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप) ले गरेको अनुगमनका क्रममा बालबालिका सम्बन्धी आचारसंहिता उल्लंघन गरिएको पाइएपछि आयोगमा उजुरी गरिएको हो ।



अभियानका अध्यक्ष राजेश शर्माका अनुसार चुनावका वेला उल्लंघनका घटना थाहा हुने वित्तिकै तत्कालन आयोगमा उजुरी गरिएका थिए ।
ती घटनामध्ये ५४ वटा फेसबुक, ३५ वटा टिकटक, अनलाइन सञ्चारमाध्यममा आएका रिपोर्टबाट ७ वटा, युट्युब र इन्स्टाग्रामबाट एक/एक र अन्य घटना स्थलगत रुपमा पाइएको सूचनाको आधारमा उजुरी गरिएको हो ।
चुनावमा गरिएको अनुगमनबारे प्रारम्भिक विवरण सार्वजनिक गर्दै बालकल्याण समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले दलगतरुपमा आचारसंहिता उल्लंघनमा नेकपा एमाले अगाडि देखिएको बताए ।
उजुरी गरिएका घटनामध्ये ४२ वटा नेकपा एमाले, ३५ वटा नेपाली कांग्रेस, २० वटा एकीकृत समाजवादी, १५ वटा माओवादी केन्द्र, ६ वटा राप्रपा, २ वटा जनता समाजवादी पार्टी र ६ वटा स्वतन्त्र उम्मेदवारबाट आचारसंहिता उल्लंघन भएका घटना छन् ।








