
काठमाण्डौ
हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले जहाज रहेको ठाउँ पत्ता लागेको जानकारी दिनु भएको छ । उहाँका अनुसार जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वोरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटनास्थलमा उद्धार टोली पठाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार स्थानीय बासिन्दाले ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज रहेको जानकारी दिएका हुन् ।
हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।











