
पोखरा ।
जिल्ला अदालत तनहुँ र नवलपुरको आदेशविरुद्ध उच्च अदालत पुगेका कलाकार पल शाहको मुद्दा बदर भएको छ ।
उच्च अदालत पोखरा इजलास ३ का न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँकै आदेशलाई सदर गर्दै थुनामा राख्न आदेश दिएको हो ।



उच्च अदालतमा शाहका वकिल कमलामोहन वाग्ले, जगदीशचन्द्र पाण्डे र मिलनध्वज शाहले बहस गरेका थिए । विपक्षमा सरकारी वकिल सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए ।नाबालिग गायिका माथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षमा रहेका कलाकार पल शाहको मुद्दा सुनुवाइ यसअघि दुई पटकसम्म स्थगित गरिएको थियो ।
बालिकाको परिवारले तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणी गरेको भन्दै उजुरी दिएका थिए ।
करणी गरेको ठहर गर्दै दुवै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि असन्तुष्ट रहेका शाहले आदेश बदर गरिपाऊँ भनी चैत १५ गते उच्च अदालत पोखरा पुगेका थिए ।
उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार २०७८ चैतमा तनहुँ जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिएकाले परिवर्तन गर्न नपर्ने भन्ने आदेश भएको हो ।








