
नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा सर्वदलीय सहमतिविना कसैको पनि शालिक नराख्ने सहमति भएको छ।
बिहीवार शालिक राख्ने विषयमा विवाद भई तनाव सिर्जना भएपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको थियो। आगामी दिनमा शलिकको विषय लिएर त्यस्तो घटना पुनः दोहोरिन नदिन उक्त निर्णय गरिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले बताए। शर्माको पहलमा बिहीवार बेलुका सर्वदलीय बैठक बसेको थियो।



उनका अनुसार‚ राजा वीरेन्द्रको शालिक राख्ने क्रममा केही युवाको समूहले तोडफोड गरेको शहीद सेतु विकको शालिकको मर्मत नेपालगञ्ज उपमहानगरपालिकाले गर्ने सहमति भएको छ।
धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्रको शालिक राख्न प्रहरीले नदिएपछि राजातन्त्रका पक्षधरहरूले ढुङ्गामुढासँगै जनआन्दोलनका शहीद सेतु विकको शालिक तोडफोड गरेका थिए।
सर्वदलीय बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायत दलका प्रतिनिधिको उपस्थिती रहेको थियो ।









