
पाल्पा – जिल्लाको बगनासकाली गाउँपालिकाका अपाङ्गता भएका सबै व्यक्तिहरूले मासिक भत्ता पाउने भएका छन् । बगानासकाली गाउँपालिकाको कार्यपालिकाको पहिलो बैठकले अपाङ्ग भई पहेँलो र सेतो कार्ड पाएका व्यक्तिलाई समेत मासिक भत्ता दिने निर्णय गरेको हो ।
कार्यपालिकाको बैठकले पालिकाभित्र अपाङ्गता भई पहेँलो र सेतो कार्ड भएकाहरूलाई मासिक पाँच सय र तीन सय भत्ता दिने निर्णय भएको गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीदर्लामीले बताउनुभयो । रातो र निलो कार्ड भएकाहरूले यसअघि नै मासिक भत्ता पाउँदै आएका छन् । अबदेखि पहेँलो र सेतो कार्ड भएका अपाङ्गलाई समेत भत्ता दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै पालिकाको बैठकले लिफ्टिङ् खानेपानी योजनामा ६० प्रतिशत बिद्युत् महशुल पालिकाले बेहोर्ने, महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई मासिक एक हजार रुपियाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले हिंसापीडित महिलाहरूका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गरी हिंसा न्युनीकरण गर्र्ने निर्णय गरेको छ ।












