
काठमाडौं ।
मनसुनी प्रणालीको प्रभाव रहेका प्रदेशहरूमा रातभर चट्याङ्गसहित भारी वर्षा भएको छ।
हाल प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



राति सबै भन्दा बढी गण्डकी प्रदेशमा ६७ मिलिमिटर वर्षा भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए।
त्यस्तै काठमाडौंमा ६० मिलिमिटर वर्षा भएको छ। मौसमविद् सापकोटाका अनुसार मनसुनी प्रणालीको प्रभाव रहेका अन्य प्रदेशका विभिन्न ठाउँहरुमा राति ठुलो वर्षा भएको छ।
आज बिहान प्रदेश १ को तराई र मधेसको पूर्वी भू–भागहरुमा वर्षा भइरहेको छ। समग्रमा आज दिउँसो र राति देशभर पूर्ण बदली रहि अधिकांश स्थानहरुमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् सापकोटाको भनाइ छ।
यसैबीच आज केही स–साना नदीहरुमा पानीको बहाब बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ को ईलाम, झापा,पाँचथर र ताप्लेजुङ, गण्डकी प्रदेशको पर्वत, स्याङ्जा, कास्की, लमजुङ र आसपास भई बहने केही स–साना नदीहरुमा पानीको बहाब बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।








