
भैरहवा ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै बैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ ।
विदेश जानेहरुका लागि पूर्व श्रम स्विकृति, अन्तिम श्रम स्विकृति र व्यक्तिगत श्रम स्विकृतिको काम अव भैरहवामा नै हुने भएको हो । यो सँगै श्रम स्विकृतिको लागि काठमाडौं धाइ रहनु पर्ने बाध्यता हटेको छ ।



भैरहवामा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले बैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले आज भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्विकृति गरेर कार्यालय सुचारु गरेका छन् ।

भैरहवाबासीको वर्षौ देखिको सपना पूरा गर्न कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दि ल्याएर सेवाग्राहीको काम बिना झन्झट गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि सकेको मन्त्री श्रेष्ठले बताए ।
यस्तै कार्यक्रममा सांसद प्रमोद यादवले भैरहवामा कार्यालय खोलेर मात्रै नहुँने भन्दै वैदेसिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गरि दिन आग्रह गरे ।
कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउनको लागि मेनपावर कम्पनी पनि आश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकारले सहयोग गर्न तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।
प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकोले सरकारले सुविधा दिएमा मेनपावर कार्यालयहरु खोल्न तयार हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए ।
भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले हप्तामा तिन दिन उडान गरि रहेको छ । छिट्ट नै अन्य देसका नियमित उडान गर्ने तयारीमा सरकार लागि रहेको छ ।









