
पाल्पा ।
पाल्पामा तीन महिना टिपर सञ्चालन गर्न नपाइने भएको छ।
सडक डिभिजन कार्यालय पाल्पाले सूचना प्रकाशित गरी असार देखि भदौ मसान्तसम्म टिपर सञ्चालनमा रोक लगाएको हो।



सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ। ठूला र अत्यधिक भारवहन सवारीसाधन सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कने र सडक जीर्ण बन्ने भएकाले टिपर सञ्चालनमा रोक लगाएको कार्यालयका प्रमुख रामेश्वर लम्सालले बताए।
वर्षातका वेला सवारीसाधनको चाप बढी हुने भएकोले अत्यधिक भारवहन टिपरलाई सञ्चालनमा रोक लगाइएको लम्सालको भनाई छ । जिल्ला प्रशासन कार्याल पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला समन्वय समितिको कार्यालयलाई बोधार्थ दिई टिपर सञ्चालनमा रोक लगाएको लम्सालले बताए ।
गत जेठ ३० गते सूचना प्रकाशित गरी टिपर सञ्चालनमा रोक लगाउन सडक कार्यालयले भनेको छ । यसको कार्यान्वयन भने तीन दिन बित्दा समेत हुन सकेको छैन।
आधिकारिक पत्र नआएको हुँदा आफूहरूले टिपर सञ्चालनमा रोक नलगाएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए। आफूलाई आधिकारिक पत्र आएपछि मात्र टिपर सञ्चालनमा ट्राफिकले रोक लगाउने उनको भनाई छ ।
यो सडक खण्ड हुँदै दैनिक ३ हजार बढी टिपरहरु सञ्चालन हुँदै आएका छन्।










