
काठमाडौं ।
नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ ।
जुन १६ तारिख (बिहीबार) प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।



यस्तै, डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले वृद्धि भएर आएको निगमले जनाएको छ ।
रुस–युक्रेन युद्ध जारी रहिरहेका बेला पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इण्डियन आयल कर्पोरेसनले बढेको मूल्यसहित नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
नयाँ मूलयसूचीअनुसार पेट्रोलको खरिद लागत २०९ रुपैयाँ २८ पैसा पुगेको छ । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ रहेकोमा प्रति लिटर पेट्रोलमा ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ ।
यस्तै, डिजेलको खरिद लागत बढेर २०२ रुपैयाँ पुगेको छ भने डिजेको खुद्रा बिक्री मूल्य १६५ रुपैयाँ रहेको छ । डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा रहेको निमगले जनाएको छ ।
एलपी ग्याँसको खरिद लागत यथावत छ । तर, जुन १ को लागत र हालको बिक्री मूल्य प्रति सिलिन्डर १८०० बिक्री मूल्यअनुसार निमगलाई प्रति सिलिन्डर ७५१ रुपैयाँ १४ पैसा घाटामा रहेको जनाइएको छ ।
नयाँ मूल्यसूची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड र मासिक घाटा ९ अर्व ६३ करोड पुग्ने अवस्था रहेको निगमले जनाएको छ ।









