
बुटवल ।
असार ११ गतदेखि रुपन्देहीमा बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ ।
५ वर्षदेखि ११ वर्षसम्म बालबालिकाहरुलाई लगाइने खोप अभियान अन्तर्गत प्रथम चरणमा जिल्लाका १६ पालिकामध्ये ५ पालिकामा खोप अभियान संचालन गरिने स्वास्थ कार्यालय रुपन्देहीले जनाएको छ ।



पहिलो चरणमा लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकामा लगाइने छ । असार ११ देखि १४ गतेसम्म पहिलो चरणको खोप कार्यक्रम संचालन हुने बताइएको छ ।
त्यस्तै, दोस्रो चरणमा असार १५ देखि १८ गतेसम्म बाँकी ११ वटा पालिकामा लगाइने कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार खोप अभियान एक स्थानीय तहमा एकै चरणमा सम्पन्न हुनेछ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जिल्लामा लक्षित जनसंख्या ५ वर्षदेखि ११ वर्ष उमेरका १ लाख ३१ हजार ५ सय ५७ जनालाई फाइजर खोप लगाइने जनाए । उनले अन्य नियमित कार्यक्रम बन्द नहुने गरी खोप लगाउने व्यवस्था मिलाइएको बताएका छन् ।









