
पाल्पा –
तानसेन नगरपालिकाले एघारौँ नगर सभामा निती तथा कार्यक्रम प्रस्तुत गरेको छ ।नगरपालिकाले सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी आव २०७९र०८० का लागि नीति तथा कार्यक्रम ल्याएको । नगरभित्रको आन्तरिक सुशासन, पारदर्शीता र जवाफदेहितालाई बलियो बनाउँदै आर्थिक विकास गर्न नगरपालिकाले नयाँ नीति तथा कार्यक्रम निर्धारण गरेको छ ।




कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजालीले भ्रष्टाचारलाई शुन्य बनाउँदै नगरपालिकालाई जनताप्रति जवाफदेही बनाउने घोषणा गर्नुभयो । उहाँले नगरले गरेका कार्यक्रमहरूको पारदर्शीताका लागि नगरपालिकाले सामाजिक परीक्षण, सार्वजनिक सुनुवाईलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।
नगरपालिकाले संस्थागत विकास तथा सुदृढीकरणका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य गर्ने, स्वमुल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउने, नगरभित्र कार्यरत कर्मचारीको मनोबल बढाउने कार्यक्रम बनाउने निती सार्वजनिक गरिएको छ ।
यस्तै तानसेनको आर्थिक विकास सम्बन्धी कार्यक्रम विभिन्न निकायसँगको सहकार्यमा अगाडि बढाउने नीति लिइएको नगरपालिकाले जनाएको छ । नगरभित्रका आर्थिक रुपले पछि परेका, विपन्न समुदाय बोटे, माझी समुदायको आर्थिक विकासका लागि छुट्टै कार्यक्रम ल्याउने घोषणा उपप्रमुख सिंजालीले गर्नुभयो ।
उहाँले पाल्पाली ढाका र करुवाको विकास तथा प्रबद्र्धन गर्न, सिद्धार्थ आर्थिक कोरिडोरलाई अगाडि बढाउने, बीग बुद्धको परियोजना अघि बढाउने, अन्तरपालिका सहकार्य गर्ने जस्ता कार्यक्रम रहेको जानकारी दिनुभयो । कृषि पशुपालनलाई प्राथमिकतामा राखेर दुध, मासुमा नगरलाई आत्मनिर्भर बनाउने नगरपालिकाको योजना रहेको छ ।

यस्तै विगतमा अगाडि बढाइएको छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, एक वडा एक किलोमिटर सडक बिस्तारलाई निरन्तरता दिने, ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य पहुँच पु¥याउन स्वास्थ्य केन्द्र संचालन गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले राजश्व सङ्कलनको अवस्थाको आधारमा वडालाई बजेट विनियोजनमा प्राथमिकता दिने, उपभोक्तालाई महशुलमा छुट दिने, तानसेनको फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अध्ययन् तथा कार्य गर्ने, विपन्न नागरिकलाई न्युनतम विद्युत् महशुलमा छुट् दिने, लिफ्टिङ् खानेपानी योजनामा नगरपालिकाले जनाएको छ ।
यस्तै कृषि पशुपालन गर्ने किसानलाई एकल वा सामूहिक रुपमा अनुदान साझेदारी कार्यक्रम सञ्चालन गर्ने, उर्वर भूमीको संरक्षणका लागि भूमीको वर्गीकरण गर्ने, कृषियोग्य जमिनमा संरचना बनाए त्यसको राजश्व दोब्बरले बृद्धि गर्ने, विभिन्न अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने लगायतका निती तथा कार्यक्रम नगरपालिकाले बनाएको छ ।

नगरसभामा सभा सदस्यहरू विमला बौडेल, माधव बस्याल लगायतले पशुपालन, कृषिलाई प्राथमिकता दिनुपर्ने, नगरभित्रका ग्रामीण क्षेत्रका बस्तीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको थियो । तानसेन नगरपालिकाले विगतको अधुरा योजना र केही नयाँ योजनालाई प्राथमिकतामा राखेर निती तथा कार्यक्रम ल्याएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । आइतबार पेश भएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नगरसभाको पहिलो बैठक नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा बसेको हो ।









