बागलुङ ।
वैशाख यता मात्रै बागलुङमा चट्याङबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् । बागलुङमा चट्याङबाट बर्सेनि ठूलो जनधनको क्षति भइरहेको छ । चट्याङबाट बच्न नागरिक सेचत हुन आवश्यक छ ।
जिल्लामा मनसुन जन्य प्राकृतिक प्रकोप बढ्दो अवस्थामा रहँदा विपद् व्यवस्थापन कार्यको तयारी थालिएको छ । भनिन्छ–‘विपति बाजा बजाएर आउँदैन ।’ त्यसैले हरेक वर्षायामसँगै अपुरणीय जनधनको क्षति हुन्छ । यस्तो क्षतिमा स्थानीय सरकार, सरोकारवाला र स्वयं आमनागरिकले पूर्ववत् सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिनसके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रणसमेत गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्यूनीकरण गर्न सकिन्छ ।



त्यसैले मनसुनको समयमा जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको पूर्वतयारी गर्ने गरेको पाइन्छ । जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण या सचेतता, सहयोग, विपद् या भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा भएको खण्डमा विपद्जन्य घटनामा केही भए पनि कम हुनेछन् ।
जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकबाट विपद् न्यूनीकरणका लागि सम्पूर्ण सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिए ।
विपद्का घटना न्यूनीकरणका लागि सबै स्थानीय तहमा क्विक रेस्पोन्स टिमसमेत बनाइएको छ । बागलुङ जिल्ला प्रशासनले लाइफलाइन सडकका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरलाई नियमित सञ्चालन, विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने डोजर, एस्काभेटर, एम्बुलेन्स, दमकललगायतका स्रोत साधन तत्कालै पठाउन मिल्ने गरी तयारी अवस्थामा राख्न सडक डिभिजन, अस्पताल तथा आयोजना कार्यालयलाई निर्देशन गरिएको छ भने पालिकालाई आफ्नो पालिकाभित्रको पहिरो पन्छाउन सहयोग पुग्ने आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई तयारी अवस्था राखिएको, स्वास्थ्यकर्मीको समूह तयार गरिएको बताउँदै उद्धारमा कुनै समस्या नहुनेगरी आवश्यक पूर्वतयारी गरिएको जनाएको छ ।









