दिपक भट्टराई
नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ५ दलीय गठबन्धनबीच केहि दिनमै सिट बाँडफाँड टुंगिने बताए ।
सोमबार तानसेनमा आयोजित कार्यकर्ता भेटघाट तथा पाटी प्रवेश कार्यक्रममा नेता खनालले ‘कुन दलले कहाँ कति सिट भन्दा पनि गठबन्धनलाई कायमै राख्नु महत्वपुर्ण विषय रहेको बताए।
आगामी निर्वाचनमा आफ्नो पार्टीले धेरै सिट जित्न नसक्ने तथा सरकारको नेतृत्व गर्न सक्ने अवस्थामा पनि नपुग्ने उनले बताए। शक्तिको रुपमा भने अस्तित्व स्थापित गर्न सफल हुने उनले दाबी गरे। नेता खनालले समाजवादको बारेमा परिकल्पना गरेको भन्दै अहिले निर्वाचनको तयारीमा भएकाले गठबन्धनले पक्कै पनी निकास दिने बताए । बामपन्थी आन्दोलनमा मै हुँ भन्नेहरुको अहमता भएका कारण बाम एकता हुन नसकेको नेता खनालको भनाई छ ।
अहिले कार्यदलले सिट बाडँफाडको तयारी गरिरहेको छ, सिट बाँड्ने कुरा छलफल गरेरै सहमतिमै टुंगिन्छ ।अहिलेको महत्वपुर्ण कुरा सिट बाडफाँड हो, सिट टुंगो लागेपछि चुनावपछि पावर शेयरिङ्ग पनि छलफलबाटै हुने बताउँदै खनालले अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको जिकिर गर्दै गणतन्त्रको रक्षा र स्थायित्वका लागि गठबन्धन गरिएको बताए । गठबन्धन हिजोको जस्तो नभइ स्थायित्व दिने खालको भएको बताउँदै यो गठबन्धन लामो समय सम्म रहने र राष्ट्रिय एकताका लागि छलफल भइरहेको बताए ।











