पाल्पा-नारायण युवा क्लब तानसेन पाल्पाको आयोजनामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । क्लबको रजत जयन्तीको अवसरमा आयोजित प्रतियोगिता १७ र १८ गते गरि दुई दिन सञ्चालन भएको थियो ।
प्रतियोगितामा नेपाल प्रहरीका तर्फबाट सुर्य महत र लिला बहादुर पुनको टिम प्रथम भएको छ । जस्ले नगद रूपैयाँ १० हजार,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । द्वितीयमा सर्वेन्द्र मल्ल र संचार तिमिल्सिनाको टिम भएका छन । जस्ले ७ हजार नगद,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । तृतीयमा विशाल भट्टराई र अनिल रसाइलीको टिम भएको छ भने सानत्वनामा टंक र जीवन रायमाझीको टिम भएका छन । जस्ले जनहि ३ हजार नगद,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगिता नारायण स्थानको फुलबारीको कबड हलमा सञ्चालन भएको थियो । रजत जयन्ती पश्चात् क्लबले वडा स्तरीय रनिङ शिल प्रतियोगिता सञ्चालन गर्ने अध्यक्ष बज्राचार्यले बताउनुभयो । कार्यक्रम प्रमुख अतिथि क्लबका सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले वि स २०५४ सालमा स्थानीय युवाहरू फुटबल खेल खेल्नका लागि स्थापित क्लबले खेलकुदको साथसाथै सामाजिक उत्तरदायित्वको भावना स्वरूप सामाजिक क्षेत्रमा अग्रसरता देखाएकोले प्रशंसा गर्नुभयो । क्लबले सामाजिक उत्तरदायित्वको भावना मात्र नभइ क्लबका पदाधिकारीहरूलाई स्वरोजगार मुलक कार्यमा जोडी आत्मनिर्भर बनाउने कार्य गर्दै आएको बताउनुभयो । कोभिडको विषम परिस्थितिका बाबजुद निकै सकृयताका साथ नागरिकहरूलाई सचेतना गराउने अभियान क्लबले सञ्चालन गरेकोले आगामी दिनमा अझै सकृयताका साथ कार्यहरू अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा पाल्पा ब्याडमिन्टन संघका अध्यक्ष वसन्त बज्राचार्य,तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,क्लबका सल्लाहकार युवराज पौडेल,सकुन्तला बज्राचार्य,जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीर जङ्ग राणा लगाएत क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव विनायक महर्जनको सञ्चालनमा सम्पन्न भएको थियो ।













