लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको प्रदेश अधिवेशन आगामी मंसिरमा गर्ने निर्णय भएको छ । नेपाल प्रेस युनियनको जनकपुरमा बसेको केन्द्रीय समितिको बैठकले आगामी मंसिर २५ देखि पुस २५ गते भित्र प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको महासचिव दिलिप पौडेलले जानकारी गराए।यस अगाडि प्रदेश तथा केन्द्रको अधिवेशनको पटक पटक मिति तय गरिएपनि हुन सकिरहेको थिएन । नवौं महाधिवेशन सम्पन्न भएपछि पहिलो पटक प्रदेश अधिवेशनको मिति तोकिएको हो ।
तोकिएकै मितिमा उपत्यका सहित आठै प्रदेशको अधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय समिति लागेको युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बताए । प्रेस युनियनको जारी महाधिवेशनले जनकपुरधाम घोषणापत्र जारी गरेर २४ गते बैठक सकिने प्रेस युनियनले जनाएको छ ।











