दिपक भट्टराई पाल्पा
चाडपर्व नजिकिदै गर्दा पाल्पामा अनुगमन गर्न सुरु गरीएको छ । बिहीवार संयुक्त बजार अनुगमन टोलीले दूध तथा दुग्धजन्य पदार्थ उत्पादन एवं बिक्री वितरण गर्ने डेरी तथा मिठाई पसलहरुमा अनुगमन गरेको हो ।
खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र घरेलु तथा साना उधोग कार्यालयको संयुक्त आयोजना तथा जिल्ला प्रशासन कार्यालयको पाल्पाको अगुवाईमा तानसेन बजारमा सञ्चालित दुध डेरी तथा मिठाई पसलमा अनुगमन गरीएको हो ।




खाध स्वच्छता सभिलेन्स तथा गुणस्तर मापनका लागी तानसेन बजार क्षेत्रका दुध डेरी तथा मिठाई पसलहरुको अनुगमन गरी नमुना संकलन लिएर परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका भैरहवा प्रयोगशालामा पठाईएको छ ।परीक्षणका लागि प्रयोगशालामा पठाएका मिठाई तथा दुधमा अखाद्य वस्तु मिसावट गरिएको पाईएमा यस्ता डेरी तथा मिठाई पसल सञ्चालकहरुलाई कारवाही गर्ने गरी नीति लिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पाल्पाले जनाएको छ ।

चाड पर्वको अवसरमा बजारमा पर्याप्त दुधको अभाव तथा मनपरी मुल्य, सरसफाई, गुणस्तर र म्याद भए,नभएको बारे अनुगमन गरीएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका कार्यालय प्रमुख तथा अनुसन्धान अधिकृत नरेश श्रेष्ठले बताउनु भयो ।
अनुगमनका क्रममा केही दूध डेरी पसल तथा मिठाई पसलमा फोहर र दर्ताकागजपत्र नराखी सञ्चालन गरिएको,बोर्ड र मूल्य सूचीसमेत नराखी सञ्चालित उक्त डेरीहरुलाई सुधार गरी मापदण्ड अनुसार सञ्चालन गर्ने निर्देशन गरीएको अनुसन्धान अधिकृत नरेश श्रेष्ठले बताउनु भयो ।

संयुक्त अनुमगन टोलीमा जिल्ला प्रशासन कार्यालय ,तानसेन नगर पालिका ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मंच जिल्ला प्रहरी कार्यालय, पत्रकारमहासंघ पाल्पा र उधोग वाणिज्य संघ पाल्पाको सहभागिता रहेको थियो ।











