धनगढी– भजनी नगरपालिका वडा नम्बर ८ की पार्वती विक सोनाफाटास्थित हुलाकी सडकमा त्रिपालमा बसेकी छिन्। भदौ ३१ गतेरातिदेखि असोज १ गतेसम्म परेको अविरल वर्षाले घरभित्र पानी पसेपछि उनी सडकमा त्रिपाल लगाएर बसेकी हुन्।
यो वर्षमात्रै नभएर हरेक वर्षायाममा उनको सोही सडकमा बास हुन्छ। सडकको किनारामा बनाइएका पालभित्रै बसेकी पार्वतीले भनिन्, ‘हरेक वर्ष घरभित्र पानी पस्छ। अनि यही सडकमा बास हुन्छ। घरभित्र रहेको अन्नपात र खेतको धान पनि सबै बाढीले पुरेको उनको भनाइ छ। उनले भनिन्, ‘अचानक आएको बाढीले गहुँ, धान, सबै सम्पत्ति सत्यनास भइहाल्यो। अब वर्षभरी केले गुजारा चलाउने होला?’हुलाकी सडकमै त्रिपालमा छोराछोरीसहित बसेकी छन् मिना चौधरी। उनको घर बाढीले क्षतविक्षत् बनाएको छ। काठका खाट, लत्ताकपडा, भाँडाकुडासम्म बचेका छन्। ‘खानपिनको निकै समस्या छ,’ उनले भनिन्, ‘तीन दिनसम्म चाउचाउ चिउरा खाएर बसेकी छु। सरकारका प्रतिनिधिहरु कोही पनि आएनन्।’
भजनी नगरपालिकाले मंगलबार बिहानदेखि बाढीपीडितलाई खान समस्या भएको भन्दै नजिकै सामूहिक भान्सा घर सञ्चालन गरेको छ। उनले भनिन्, ‘सामूहिक भान्सा घर सञ्चालन भएपछि तीन दिनपश्चात पेटभरी खाना खान पाइयो।’
भजनी नगरपालिका वडा नम्बर ८ जनकपुरका मानसिंह चौधरी मंगलबार सडकको बासबाट घर फर्केका छन्। पानीको सतह घटेपछि घर पुगेका उनी घरमा पुगेको क्षतिले चिन्तित थिए।











