दिपक भट्टराई
देशका धेरैजसो ठाउँमा अहिले डेंगी फैलिएको छ । लामखुट्टेको टोकाइबाट हुने यो रोग नियन्त्रणका लागि स्थानीय सरकारहरूले अभियान नै थाल्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । डेंगी नियन्त्रण अभियानमा पाल्पामा सबै पालिका कानमा तेल हालेर बसेको वेला रिब्दीकोट स्थानीय सरकार भने डेंगी नियन्त्रणमा अघि बढेको छ । स्वास्थ्य शाखाले गरेको डेंगी सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया पछि खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क परिक्षण तथा उपचारको व्यवस्था गरेको हो ।
तिव्र रुपमा फैलिरहेको डेंगीबाट जोगिन घरबाटै सचेतना आवश्यक रहेको स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले बताउनु भयो । गाउँपालिकाले डेंगी परिक्षण तथा यसका उपचार पालिकाबाट नै गर्ने र यसको लागि आफु ब्यवस्थापनमा लागेको संयोजक अधिकारीले जानकारी दिनु भएको छ । सतर्कता नअपनाएमा डेंगीले भयानक रुप लिइ धेरैको ज्यान जान सक्ने भन्दै संयोजक अधिकारीले डेंगीबाट जोगिन घरटोलबाट नै सचेतना अपनाउन सबैलाई आग्रह गर्नु भएको छ।
रोगका कारण गम्भीर स्वास्थ्य समस्या नआओस् भन्न स्थानीय सरकारले काम थाल्न ढिला गर्नु नहुने तथा अन्य काम थाँती राखेर भए पनि डेंगीविरुद्ध अभियान चलाउने प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताउनु भयो ।
गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले मानिसहरूको हेलचेक्र्याइँकै कारण यो फैलिइरहेको भन्दै टोल टोलमा सरसफाई अभियान तथा लामखुट्टेको बासस्थान मास्ने गरि अभियान चलाउन आवश्यक रहेको जानकारी दिनु भएको छ ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले डेंगीका कारण ज्यानकै जोखिम भएको हुनाले यसबाट सचेत हुन उहाले सबैलाई आग्रह गर्नु भएको छ । स्वास्थ्य केन्द्रमा निशुल्क परिक्षण तथा उपचारको व्यवस्था गरको बताउदै समयमै पालिकाले किट उपलब्ध गराई यसको नियन्त्रणमा जति सक्दो छिटो पालिका लाग्ने अध्यक्ष कार्कीको भनाई रहेको छ ।




डेङगुबाट हुने जोखिम तथा यसबाट जोगिने उपाय बिषयमा अभिमुखीकरण दिदै स्वास्थ्य संयोजक सुनिल अधिकारीले डेंगी रोगको परिचय, यसको लक्षण, हुन सक्ने क्षति तथा यसबाट जोगिने उपाय जाँच र उपचार पद्दतीको बारे जानकारी गराउनु भएको थियो ।










