गुल्मी
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सबै घरधुरीमा न्यूनतम विद्युत् महसुल तिरिदिन सुरु गरेको छ ।
पालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र बसोवास गर्ने पाँच हजार पाँच सय २४ घरधुरीका नागरिकको विद्युत् महसुल भुक्तानी गरिदिएको हो ।



पालिकाले सामुदायिक विद्युत् प्रयोग गर्ने नागरिकको हकमा दश युनिट र नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रयोग गर्नेहरूको हकमा न्यूनतम २० युनिटसम्मको महसुल रकम भुक्तानी गरिदिएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो ।
पालिकाले भुक्तानी गरेको रकम साउन, भदौ र असोज गरी तीन महिनाको गरेर सात लाख ३२ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।
कुनै पनि नागरिक विद्युतको पहुँचबाट टाढा नरहुन् भन्ने उद्देश्यले विद्युत् महसुल भुक्तानीका लागि यस आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष तारा थापाले बताउनुभयो ।









