पाल्पा । कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहारअर्थात् यमपञ्चक सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । यमराजलाई दीपदान ‘बत्तीदान’ गर्ने र कुवेरको पूजा गर्ने परम्परा रहेको छ । आजको दिन हिन्दु परम्परा अनुसार आफ्नो घरको बाहिरपट्टि दक्षिणपट्टि फर्काएर नयाँ माटोको पालामा यमराजलाई दियो अर्पण गरी यमपञ्चक अथवा तिहारको विधिपूर्वक सुरुवात र स्वागत गरिन्छ । यो विधिले अकाल मृत्यु हुनबाट जोगाउँछ भन्ने मान्यता र विश्वास रहेको पाइन्छ ।
आजैको दिन धन त्रयोदशी अर्थात् धनतेरस पनि परेको छ । यस दिन आफ्नो गच्छेअनुसार आवश्यक सामान, नयाँ भाँडावर्तन वा बहुमूल्य धातु किन्ने प्रचलन छ । यस दिन कुबेरको पूजा गरिन्छ ।











