पाल्पा । कात्तिक १९ गते
निर्वाचन नजिकिएसँगै एमाले उम्मेदवारहरु अहिले घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त छन् । पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद आचार्य शनिवार माथागढी ४ बडडाँडा, मकले, मैदान, केरौली, खापुक, बगाले लगायतका टोलहरुमा घरदैलोमा व्यस्त रहनुभयो । उम्मेदवारहरुसँगको भेटघाट तथा अन्र्तक्रियाका क्रममा मतदाताहरुले एक घर एक धारा, सबै ठाउँहरुमा बिजुली, ऐतिहासिक धार्मिक स्थानहरुको जीर्णोद्धार तथा प्रवर्धन, हर्नेटा फापरबारी पक्कीपुल, हर्नेटा, मर्मरा सिकारकोड सडक स्तरोन्नती, फेदी, बरडाँडा देउगीर मोटरबाटो स्तरोन्नती, मौरी स्मार्ट गाउँ कार्यक्रमलाई थप विस्तार गर्ने, खेलकूद क्षेत्रको प्रवर्धन, कवर्ड हल निर्माण लगायतका योजनाहरुको माग गरेका थिए । नेता आचार्यले आफू प्रदेशसभा सदस्य भएकै बेला धेरै योजनाहरु संचालन भएको र बाँकी आाधारभुत आवश्यकताहरुलाई ५ वर्षभित्र क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्षेत्र नं. १ (२)का प्रदेससभा सदस्यका उम्मेदवार खेम बहादुर सारु पनि नेता आचार्यसँगै माथागढी वडा नं. ४ का बिभिन्न टोलहरुमा घरदैलो तथा भेटघाटमा व्यस्त रहनुभयो । किसान माविमा प्राविधिक शिक्षा सञ्चालन, एक घर एक धारा अभियानलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्षेत्र नं. १ (१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ रामपुर–४ गिजिनडाँडाका मतदातहरुसँगको भेटघाटमा व्यस्त रहनुभयो । उहाँले मतदाताहरुसँग छलफल अन्र्तक्रिया हुँदै आफू निस्वार्थ रुपमा जनताको सेवामा लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।












