
पाल्पा – नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा तानसेनको श्रीनगर डाँडामा सम्पन्न भएको छ । कार्यक्रमको नेपाली सेना तानसेन दि फेमस महेन्द्रदल गणका गणपति बालमुकुन्द विष्टले उद्घाटन गर्नुभयो । उहाँले अन्य जिल्लाको तुलनामा पाल्पा जिल्लाको भूपू सैनिक संघको काम उदाहरणीय रहेको बताउनुभयो । उहाँले नेपाली सेनाले भूपूहरुको वृद्धि विकास र समस्यामा हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
नेपाली सेनाले विभिन्न समयमा विभिन्न खालका कार्यक्रम र सेवा सुविधाहरु कल्याणकारी मार्फत लागु गरेको हुँदा सबै सेवा सुविधाहरु उपभोग गर्दै भूतपूर्व सैनिक संघले गरेका कार्यक्रममा सबै भूपूहरु सहभागि रहेर काम गर्न उहाँले सबै भूपू सैनिकहरुलाई आग्रह गर्नुभयो ।स्वास्थ्य, शिक्षा, सामाजिक विकास, दुर्घटना, जेष्ठ नागरिक लगायतका क्षेत्रमा नेपाली सेनाले काम गरिरहेकोले कार्यरत भएपछि अवकास प्राप्त जीवनमा समेत यि सेवाहरुको उपयोग गर्न सबै पाल्पाली भूपूहरुलाई उहाँले जानकारी दिनुभयो । नेपाली सेना र रिटायर्ड भूपूहरु सबै एउटै सैनिक संगठनको परिवार भएकाले सबैले एक अर्कोको समस्यामा साथ सहयोग जारी राख्नुपर्ने विष्टले बताउनुभयो ।



उहाँले रिटायर्ड जीवनमा समेत समाजमा आमूल परिवर्तन र नेतृत्वदायी योगदानका क्षेत्रमा काम गर्न उहाँले सबै भूपूहरुलाई आव्हान गर्नुभयो । उहाँले समाजमा सैनिकले काम गर्नुपर्ने केही भएमा वा केही समस्या भएमा नेपाली सेनाले सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा भूपू सैनिक संघ पाल्पाका सभापति देवबहादुर भाट क्षेत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले लुम्बिनी प्रदेश इपि सेन्टरको समन्वयमा कृषि, पशुपालन र अदुवा खेतीको र सीप मूलक तालिमबाट १ सय २० जनालाई तालिम दिइएको बताउनुभयो ।
यस्तै संघमा आवद्ध भूपू सैनिकहरुको निधनमा राहत स्वरुप ३१ जनालाई २५ हजारको दरले ७ लाख बढी रकम सहयोग गरेको, भूपू सैनिकहरुको पेन्सन तथा सहुलियत ऋण प्रदानमा समेत संघले सहयोग गर्दै आइरहेको सभापति भाटले जानकारी दिनुभयो ।भूपू संघले नेपाली सेना तथा भूपूहरुलाई २ सय ६१ जनालाई सहुलियत दरमा लघुकर्जा वितरण गरेको, जटिल रोगीहरुलाई ५ हजार आर्थिक सहयोग, विपन्नहरुलाई छात्रवृत्ति, भूपूका छोरा छोरीहरुलाई छात्रवृत्तिमा विभिन्न विद्यालयमा अध्ययनको सुविधा समेत मिलाइएको जानकारी दिनुभयो ।

कार्यक्रममा संघका कोषाध्यक्ष मोहन बहादुर थापाले ४६ लाख ४४ हजार २ सय ८२ रुपैंया बरावरको आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नुभयो । कार्यक्रममा ७५ वर्ष माथिका जेष्ठ नागरिक, एकल महिला, घाइते अपाङ्ग भूपू सैनिक तथा तिनका एकल परिवारहरुलाई नगद, दोसल्ला, प्रमाण पत्र र खादा ओडाएर सम्मान समेत गरिएको थियोकार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट इन्द्रबहादुर रावल, सहभागि तर्फबाट रामबहादुर बस्नेत, महेन्द्र पोखरेल, तारा बहादुर खत्री लगायतले शुभकामना तथा राय सुझावहरु राख्नुभएको थियो । सेनानी विष्णु बहादुर थापाले सहभागि तथा अतिथिहरुलाई स्वागत गर्दै सबै भूपूहरुले सेवा सुविधा लिनको लागि संघमा आवद्ध हुन आग्रह गर्नुभयो । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाका सभापति देव बहादुर भाट क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमको संचालन तारा बहादुर रानाभाटले गर्नुभएको थियो ।








