
पाल्पा – नेकपा एमालेका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ (१) मा प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईले आफू यसअघि पद र शक्तिमा नरहँदा पनि निरन्तर जनताको सेवामा लागिपरेको बताउनुभएको छ ।
पटक पटक मन्त्री सांसद भएका व्यक्तिहरुले नै जनताको आवश्यकता के हो र कहाँ के विकासको खाँचो छ भन्नेबारे सोच बिचार नगरेको अवस्थामा आफू जनताको सेवक भएर लागिपरेको भट्टराईले बताउनुभयो ।
तानसेन नगरपालिका वडा नं. ७ को प्रभास, काजीपौवा लगायतका स्थानमा घरदैलो गर्दै नेता भट्टराईले आफू लामो समयदेखि लाभको पद नलिएर जनताको सेवामा लागिपरेको र आगामी दिनमा पनि निरन्तर जनताको सेवक भई काम गर्ने बताउनुभयो । जनताको घर दैलोमा पुग्ने क्रममा आफूले जनताका अपेक्षा र आवश्यकताहरुलाई टिपोट गरेको र निर्वाचन पश्चात सबै आवश्यकताहरुलाई क्रमशः ५ वर्षभित्र पूरा गर्ने गरि आफू लागिपर्ने भट्टराईले बताउनुभयो ।
पाल्पा आफैमा पनि शैक्षिक जिल्ला हो । यहाँको शिक्षा क्षेत्रलाई समय सापेक्ष बनाउँदै अगाडि बढाउनुपर्ने आवश्यकता छ । समय अनुसारका प्राविधिक शिक्षा कार्यक्रमहरुलाई प्रदेश सरकारसँगको सहकार्यमा पाल्पामा ल्याउन आफू पूर्ण रुपले लागिपर्ने भट्टराईले बताउनुभयो ।
यहाँको कृषि क्षेत्रलाई थप आधुनिकीकरण गर्नु आवश्यक छ ।कृषि, पशुपालनमा युवाहरुलाई आकर्षित गर्दै बजारीकरण गर्न आफु लागिपर्ने भट्टराइले प्रतिबद्धता जनाउनुभयो । गरिव तथा विपन्न नागरिकहरुलाई सहज स्वास्थ्य उपचार सुविधा पाउने गरि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने भट्टराईले प्रतिबद्धता जनाउनुभयो ।











