
पाल्पा।सत्ता गठबन्धन पाल्पा क्षेत्र नं. २ का उम्मेदवारहरुले पाल्पाको तिनाउ गाउँपालिकाको झुम्सादेखि दोभानसम्मको क्षेत्रमा एकीकृत बस्तीको विकास गर्ने बताएका छन् । उनीहरुले आइतबार तिनाउको सत्यवती, दोभानमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै तिनाउ क्षेत्रलाई एकिकृत बस्तीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेले झुम्सादेखि दोभानसम्मको क्षेत्र एकिकृत बस्ती निर्माण गर्न उपुक्त भएकाले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले त्यो काम गर्ने बताए ।झुम्सा–दोभान क्षेत्रमा एकिकृत वस्ती विकासको गुरुयोजना बनाएर भौतिक तथा आर्थिक रुपमा विकास गर्ने उम्मेदवार पाण्डेले प्रतिवद्धता व्यक्त गरे । उनले पाल्पा बुटवल सडकको सिद्धबाबा क्षेत्रको बाटोमा आफ्नै पहलमा १० अर्बको बजेट सुनिश्चित भएको र अहिले ठेक्का प्रक्रियासँगै सुरुङ्गमार्ग निर्माणको चरणमा रहेको समेत बताए ।
उनले सिद्धार्थ राजमार्ग वरपर राजमार्ग क्षेत्रको वस्तीमा टिप्परको धुलो र धुवाँ तथा ध्वनी प्रदुषण नियन्त्रणमा आफूले ध्यान दिने बताए ।
उम्मेदवार पाण्डेले ऐतिहासिक सत्यवती ताल जान तिनाउ खोलाको गोरबन्दी घाटमा पुल निर्माण गर्ने , सत्यवतीसम्मको सडक पिच गर्ने, कृषि उत्पादनलाई जोड दिदै आम नागरिकको जीवस्तर उकास्ने बताए ।




उनले आफ्नो पहलमा दोभान खोला र कचल खोलामा ४० करोड बराबरको बजेटमा पुल निर्माण भएको, नुवाकोट गढीमा मगर संस्कृतिको संरक्षण गर्न ७ करोड बजेटमा सांस्कृतिक डवली निर्माण गरिएको बताए ।








