
रेडियो श्रृङ्गेश्वर कात्तिक २९
नेकपा एमालेका नेता फर्सुराम पाण्डेले एमालेका एजेण्डा र कार्यक्रम सदैव जनसेवा केन्द्रित सावित भएको धारणा राख्नुभएको छ ।



जनतामा सरकार भएको आभाष दिलाउने काम एमालेले अख्तियार गरेका नीती तथा कार्यक्रमले पुष्टि गरेको उहाँको भनाई छ ।
आफ्नो गाउँ आफै बनाउँ,सामाजिक सुरक्षाको दायित्व,सेवा तथा सुविधाको समानुपातिक वितरण लगायतका विषय पद्धतिकै रुपमा विकास गर्न पार्टीले निर्वाह गरेको भूमिका जनमुखी र लोककल्याणकारी सावित भएको पाण्डेले बताउनुभयो ।
आगामी निर्वाचनमा नेकपा एमाले प्रदेशसभा ‘ख’ गुल्मीका उमेद्वार रहेका पाण्डेले सस्तो लोकप्रियता कमाउन नभई सबै तह र तप्काका नागरिकलाई तत्कालीन एवं दीर्घकालीन उत्थान गर्ने गरी आगामी योजना र घोषणापत्र तयार भएको बताउनुभयो ।
चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज गुल्मीदरबार गाउँपालिकामा भएका कार्यक्रममा उहाँले भन्नुभयो “हाम्रो पार्टी नेकपा एमालेले आगामी योजना र घोषणापत्र ग्यारेण्टीका रुपमा यहाँहरु समक्ष प्रस्तुत गरिसकेको छ, तीनको अक्षरस कार्यान्वयन गर्न एमालेलाई मत दिनुस् भन्ने आग्रहसहित आएका हौँ ।”
राष्ट्रिय समस्या र तीनको दीर्घकालीन समाधान गर्ने एजेण्डा पार्टीको केन्द्रीयतहबाटै लागु भएको र गुल्मीको सन्दर्भमा भूगोल,श्रोत र सम्भाव्यताबारे अध्ययन गरी आफूहरु पूर्णतयारीमा निर्धारण गरिएका लक्ष्यसाथ निर्वाचनमा होमिएको पाण्डेको भनाई छ ।
“स्थानीय रोजगारीको कुरा हामीले बढी महत्वका साथ उठाउनुको अर्थ त्यससँग जोडिएका बजारपलायन लगायतका समस्या न्यूनीकरण गर्न सकियोस् भन्ने हो,” उहाँले अगाडि भन्नुभयो “घरेलु लघु तथा मझौला कुनै पनि उद्यम गर्ने मानिस बजार अभाव वा अन्य प्रतिकुलताबाट विस्थापित हुन नपरोस् भनी त्यसको जिम्मा राज्य संयन्त्रले लिनुपर्छ भन्ने अवधारणा सहित आएका छौँ, त्यसको सफल कार्यान्वयन गर्न पनि हामीलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।”
उद्यमीलाई बीमाको व्यवस्था होस् वा उत्पादनमा आधारित अनुदानको नीति यी सबै व्यवस्थाको ग्यारेण्टी गर्ने गरी आएकाले एमालेप्रतिको भरोषा बढेको उहाँको दाबी छ ।
गुल्मीदरबारमा आयोजित एक कार्यक्रमकाबीच पाण्डेले अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गरेका केही युवाहरुलाई एमालेमा स्वागत गर्नुभयो ।
नवप्रवेशीहरुले पार्टीको स्पष्ट गन्तव्य र उमेद्धवारमा देखिएको विकासप्रेमप्रतिको कटिबद्धतालाई साथ दिन आफुहरु एमाले प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।








