
पाल्पा – पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यले सबै पक्षलाई समेटेर पाल्पाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । आचार्यले पाल्पाको समग्र विकासका लागि यो वा त्यो पार्टी नभनी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।



पाल्पाको पूर्वी भेगका मतदातासँग मत माग्ने क्रममा आचार्यले विगतमा पनि आफू प्रदेशसभाको सदस्य हुँदा सबैलाई समेटेर काम गरेको उहाँले बताउनुभयो । जनप्रतिनिधि भएपछि सबैको प्रतिनिधि हो उहाँले भन्नुभयो मेरो विगतको शैली पनि त्यही थियो, अब निर्वाचित भएभनेपनि सबैलाई समेटेर पाल्पाका नागरिकको हितमा लाग्नेछु उहाँले भन्नुभयो ।
पछिल्लो पाँच वर्षमा सुखी नेपाली समृद्ध नेपालको अभियान आफू लागेका स्मरण गर्नुहुँदै आचार्यले अब उक्त अभियानलाई सार्थकता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । विगतमा संघ र प्रदेश सरकार हुँदा सिद्धबावा सडकको सुधार तथा सुरुङ् मार्ग निर्माणमा आफ्नो दल र आफूले भूमिका खेलेको उहाँले बताउनुभयो ।
पाल्पाका नागरिकको घरमा एक घर, एक धारा अभियान सञ्चालन गरेर स्वच्छ खानेपानीको उपलब्धता गराएको आचार्यले दावी गर्नुभयो । पाल्पाको रामपुर, निस्दी, रम्भा, पूर्वखोला र माथागढीमा आफूले सिंचाई पूर्वाधार निर्माण, खानेपानीको सहज उपलब्धता, सडकको निर्माण तथा पालिका पहुँच मार्ग निर्माणमा भूमिका खेलेको उहाँको भनाई छ ।
यसअघि विकासको आधार तयार गरेको बताउँदै आचार्यले त्यसलाई पूर्णता दिन एमालेका उम्मेदवारहरूले जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले एक पालिका एक व्यवस्थित अस्पताल, आर्यभाङ्ज्याङ् सडकको स्तरउन्नति, एक पालिका एक व्यवस्थित सहर, पालिकाको पहुँच मार्ग सुधार गर्न एमालेका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।
यस्तै कृषि क्षेत्रको आधुनिकीकरण गर्दै निर्यात बढाउन, शिक्षा क्षेत्रको व्यापक सुधार गरी बीग स्कुल बनाउन, बाँदर तथा वन्यजन्तु नियन्त्रण गर्ने, विद्युतीकरण नभएका स्थानमा विद्युत्को पहुँच विस्तार गर्न आफू लाग्ने आचार्यको भनाई छ । यस्तै पर्यटकीय पूर्वाधार निर्माण तथा विकास गर्न, कालीगण्डकीको समुचित प्रयोग गर्दै आयआर्जन बढाउन, महिला, दलित, तथा विपन्नलाई स्वरोजगार बनाउन तथा विदेशका युवा पलायन रोक्न आफूले भूमिका खेल्ने उम्मेदवार आचार्यले बताउनुभयो ।
फरक प्रसंगमा आचार्यले कालीगण्डकी डाइभर्सन गर्न नहुनेमा जोड दिनुभयो । उहाँले कालीगण्डकी डाइभर्सन यस क्षेत्रका नागरिकको हित विपरीत हुने भएकाले त्यसमा आफूहरूको सहमति नरहेको बताउनुभयो । कालीगण्डकी डाइभर्सनबारे हामीसँग कुनै छलफल भएको छैन उहाँले भन्नुभयो । आचार्यले कालीगण्डकीको बहुउपयोग गर्न एमालेले कालीगण्डकीमा जलयातायातको सुरुवात गर्न कार्यक्रम ल्याएको जिकिर गर्नुभयो ।








