
काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडोमा केही रोगको प्रकोप बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेका छन्।
केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशेष सावधान अपनाउन उनले आग्रह गरेका छन्।
तथ्याङ्कअनुसार आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको थियो।



चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ।
जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ। यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ।
हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्छ।
त्यसैगरी दूषित खाना र पानीबाट अधिकांश रोग सर्ने भएकाले खानेकुरामा ध्यान दिनसमेत मन्त्रालयको आग्रह छ। खानेकुरा र खानेपानी सफा भाँडामा ढाकेर राख्न, खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्रोसँग हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ।








