
बुटवल ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा दुई महिनामा दान वापत ६१ लाख भन्दा बढी रकम संकलन भएको छ ।
लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रबार सकाएको दानपेटीकाको भेटी गणनामा ६१ लख २० हजार ८०६ रुपैयाँ रकम संकलन भएको हो ।



आन्तरिक र वाह्य पर्यटकको संख्या बृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।
अघिल्लोपटक ३ महिनामा एक पटक गणना गरिएकोमा यस पटक दान पात्र छिटटै भरिएकाले दुई महिना नपुग्दै गणना शुरु गरिएको हो ।गत असोज ३० गते गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानवापत रकम संकलन भएको थियो ।
कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि हुन थालेको छ ।
अहिले लुम्बिनी भ्रमणको सिजन समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाईलेण्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनाथी आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए ।
लुम्बिनी विकास कोषको सुचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरीक अर्थात नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन्।
यस्तै नोभेम्र महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्यमुलुकबाट ७ हजार ४ सय ७३ जनाले लुम्बिनीमा पाइला टेकेका छन्।
नोभेम्रमहिनासम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट १ लाख ८८ हजार पर्यटक भित्रिएको सुचना शाखाको तथ्यांकमा उल्लेख छ ।
भेयतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।








