
बुटवल ।
बुटवलमा पुस ७ गतेदेखि सञ्चालन हुने १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनमा स्वदेशी उत्पादन मात्रै प्रदर्शनमा राखिने भएको छ ।
नेपाली उत्पादनलाई बजारीकरण गर्दै उपभोक्तामा स्वेदशी वस्तुको प्रयोग गर्ने बानीको विकास गराउने प्रदर्शनीले प्रमुख लक्ष्य लिएको छ ।
प्रदर्शनी आयोजक रूपन्देही उद्योग संघले स्वेदशी उद्योगलाई प्रबद्र्धन गर्दै कृषि, प्रविधि तथा पर्यटन महोत्सव आयोजना गर्न लागेको हो ।
राष्ट्रिपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनी मूल समितिका संयोजक माधव पौडेलले बुटवलमा प्रदर्शनीको अभियानले पछिल्ला दिनहरूमा नयाँ रूप धारण गर्दै आएको बताए ।



‘आयोजनालाई परिस्कृत र परिमार्जन र आम उपभोक्ता तथा दर्शकहरूको चाहनालाई केन्द्रमा राखेर अगाडि बढाउँदैछौँ । स्वदेशी उत्पादनलाई बजारीकरण गर्ने हाम्रो लक्ष्य हो’, उनले भने । बुटवलमा २०४५ सालमा पहिलो प्रदर्शन लागेपछि यसले निरन्तरता पाउँदै आएको छ ।
कोरोना महामारीका कारण दुई वर्ष सञ्चालन हुन नसकेको महोत्सवमा अहिले दर्शक र कारोबार बढी हुने आयोजकले अपेक्षा लिएको छ । महोत्सवमा ७ लाख दर्शक र २५ करोडको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ । त्यस्तै, प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई ६० र विद्यार्थीलाई ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको उद्योग संघका महासचिव हरिबहादुर खत्रीले जानकारी दिए ।
प्रदर्शनीमा टिकटको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरी छुट्याइने भएको छ । प्रदर्शनी १३ दिने चल्नेछन ।
स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार सिर्जना, गोष्ठी र अन्तरक्रिया पनि हुनेछ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटीलगायतका करिब ४५० स्टलहरू रहनेछन् ।








